जेनजी विद्राेह: समाचार संकलनका क्रममा घाइते पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने: सञ्चारमन्त्री खरेल

176 Shares

काठमाडौँ। जेन–जी युवा पुस्ताको विद्रोहका क्रममा समाचार संकलन गर्दै घाइते भएका पत्रकारहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

सिंहदरबारमा शुक्रबार आयोजित कार्यक्रममा घाइते पत्रकारहरूलाई नगदसहित सम्मान गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त घोषणा गर्नुभएको हो। जेन–जी विद्रोहका क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार जना पत्रकार घाइते भएका थिए।

घाइते हुनेमा कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेस डटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाल रहेका छन्। सोही कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

मन्त्री खरेलले घाइते पत्रकारहरूलाई उपचारका विषयमा सरकारसँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्नुभएको छ। साथै, घाइते पत्रकारहरूले चाहेमा उचित रोजगारीको व्यवस्थापन गर्न नेपाल पत्रकार महासंघले पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

सरकारले पत्रकारहरूको सुरक्षाप्रति गम्भीर रहेको र प्रेस स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध रहेको मन्त्री खरेलको भनाइ छ।