‘परान’ बन्यो धेरै कमाउने चौथो नेपाली फिल्म, ‘छक्कापञ्जा ४’ र ‘जारी’ लाई उछिन्यो

137 Shares

काठमाडौँ । नीर शाह स्टारर नेपाली चलचित्र ‘परान’ नेपाली फिल्म इतिहासमा हालसम्म सर्वाधिक कमाइ गर्ने चौथो स्थानमा पुगेको छ ।

चलचित्रले प्रदर्शनको ४९ औँ दिनसम्म, अर्थात् बिहीबार (३ पुस) सम्म सिनेपा बक्सअफिसमा देशभरबाट १७ करोड ५५ लाख ३४ हजार ५३० रुपैयाँ ग्रस आम्दानी गरेको छ ।

यस कमाइसँगै ‘परान’ ले चर्चित चलचित्र ‘छक्कापञ्जा ४’ र ‘जारी’ को बक्सअफिस रेकर्डलाई उछिनेको छ । ‘छक्कापञ्जा ४’ ले १७ करोड ५३ लाख २ हजार ६११ रुपैयाँ र ‘जारी’ ले १७ करोड ४८ लाख १ हजार ४५९ रुपैयाँ ग्रस कमाएको थियो ।

‘परान’ ले शनिबार प्रदर्शनको ५१ औँ दिन मनाउँदैछ । हालसम्म ‘परान’ भन्दा बढी कमाइ गर्ने चलचित्रमा ‘१२ गाउँ’, ‘कबड्डी ४’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेका छन् ।