रविलाई भरतपुरसम्म जहाज, त्यसपछि गाडीबाट भैरहवा

196 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल हुँदै प्रस्थान गरेका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाने बुद्ध एयरको जहाजमार्फत जाने तयारीमा उनी बिहान ७ः५५ बजेदेखि कुरिरहेका थिए । तर भैरहवाको मौसम नखुलेपछि वैकल्पिक मार्ग अपनाउँदै भरतपुर हुँदै रुपन्देही जान लागेका हुन् । भरतपुरबाट भने उनी सडकमार्गमार्फत रुपन्देही पुग्नेछन् ।

लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल र रास्वपाका केही नेताहरू पनि यात्रामा सहभागी छन् । उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले शर्तसहित थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जान लागेका हुन् । उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्ने भएकाले सोही प्रयोजनका लागि उनी त्यहाँ जान लागेको बताइएको छ ।