काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो। प्रजातन्त्रको आधार नै निर्वाचन भएको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार र आतुर रहेको बताउनुभयो।
“संविधान जोगाउने र देशलाई संक्रमणबाट बाहिर निकाल्ने काम निर्वाचनले मात्र गर्छ,” कोइरालाले भन्नुभयो, “हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा शंका पैदा भएको छ।”
सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाउँदै उहाँले सुरक्षा र स्थायित्वप्रति गम्भीर प्रश्न उठाउनुभयो। “केही दलका नेताहरूलाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिरै छन्, कैदीहरू पनि बाहिर छन्,” उहाँले प्रश्न गर्नुभयो, “यी विषयमा सरकारले के सोचिरहेको छ ?”
फेसबुकबाट तपाईको प्रतिक्रिया