सक्रिय राजनीतिबाट अलग हुने एमाले नेता अधिकारीको घोषणा

199 Shares

काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्नुभएको छ।

६६ वर्षीय अधिकारीले शुक्रबार सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी दिनुभएको हो। आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै उहाँले जिम्मेवारी जसरी पनि पूरा गर्ने कार्यशैली अपनाएको र पद तथा अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको उल्लेख गर्नुभएको छ।

अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने बताउँदै अधिकारीले साधारण सदस्यका रूपमा रहेर पार्टी, समाज र देशको हितमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उहाँलाई अनुशासन आयोगको अध्यक्षका रूपमा प्रस्ताव गरिएको थियो। तर, अरूलाई पनि अवसर दिनुपर्छ भन्दै अधिकारीले उम्मेदवारी दर्ता नगर्नुभएको थियो।