काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ ।
मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधि अनुसार घाइतेलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी वर्गीकरण गरिँदै आएको छ । स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा रहेको प्राविधिक समितिले अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा वर्गीकरण गरिरहेको छ ।
हालसम्म काठमाडौँ, कास्की र चितवन जिल्लाका १८३ जना घाइतेको वर्गीकरण सम्पन्न भएको छ । जसमा १८ जना अति गम्भीर, ५५ जना गम्भीर, ४० जना मध्यम र ७० जना सामान्य घाइते रहेका छन् ।
कार्यविधिअनुसार अति गम्भीर घाइतेले मासिक १८ हजार, गम्भीरले ९ हजार र मध्यम घाइतेले ४ हजार रुपैयाँ जीविकोपार्जन भत्ता पाउने व्यवस्था छ । सामान्य घाइतेका लागि नगद राहतको व्यवस्था गरिएको छैन ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनपछि घाइते वर्गीकरणको काम तीव्र गतिमा अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । देशभर जेनजी आन्दोलनका क्रममा घाइतेको कुल संख्या २ हजार ५२२ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया