चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न सरकारसँग एमालेकाे आग्रह

184 Shares

काठमाडौं । नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको निष्पक्ष अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले हाल सार्वजनिक रूपमा चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको छानबिन अघि बढाउन आह्वान गर्ने प्रस्ताव पारित गरेको हो । प्रस्तावबारे जानकारी दिँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेको बताए ।

दोषी देखिएकालाई कानूनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले राज्यका अख्तियारप्राप्त निकायहरूलाई यस विषयमा आवश्यक निर्णय लिन आग्रह गरिएको जानकारी दिए ।

उनले एमाले सधैं सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको उल्लेख गर्दै कुनै विषयमा प्रश्न उठेपछि सार्वजनिक पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्ने परम्परा पार्टीमा रहँदै आएको बताए । अभियोजन सुरु भएपछि कानुनी रूपमा सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने अभ्यास पनि निरन्तर रहेको उनको भनाइ छ ।

नेता ज्ञवालीका अनुसार ११औँ महाधिवेशनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा सामाजिक–आर्थिक रूपान्तरणका लागि सञ्चालन भएका विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण संघर्षको विरासतलाई आत्मसात् गर्दै अघि बढ्ने संकल्पसमेत व्यक्त गरेको छ ।