४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ?

192 Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत ४० वटा भोटिङ मेसिनबाट १ हजार १ सय ३९ मत गणना गरिएको छ।

हालसम्मको मतपरिणाम अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्।

महासचिव पदतर्फ शंकर पोखरेल ६१३ मतसहित अग्रस्थानमा रहेका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा पृथ्वीसुब्बा गुरुङ अग्रता कायम राख्दै पहिलो स्थानमा छन्। दोस्रो स्थानमा विष्णु प्रसाद पौडेल र तेस्रो स्थानमा रामबहादुर थापा रहेका छन्। उनीहरू सबै ओली प्यानलका उम्मेदवार हुन्।

उपमहासचिव पदमा लेखराज भट्ट र रघुवीर महासेठ अग्रता लिइरहेका छन्। ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका योगेश भट्टराई तेस्रो स्थानमा छन्। सचिव पदतर्फ महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राई अग्रस्थानमा देखिएका छन्।