एमाले मतगणना जारी: ओली प्यानलकै उम्मेदवारहरू अगाडि

201 Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबार सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि अहिले मतगणना भइरहेको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको करिब तीन घण्टाभित्र परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ। हालसम्मको मतपरिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलको वर्चस्व देखिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्।

महासचिव पदमा शंकर पोखरेलले ६१३ मतसहित अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदतर्फ पनि ओली प्यानलका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा रहेका छन् भने दोस्रो स्थानमा विष्णु प्रसाद पौडेल र तेस्रो स्थानमा रामबहादुर थापा रहेका छन्। उनीहरू सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन्।

त्यसैगरी उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र रघुवीर महासेठ अग्रता लिइरहेका छन्। ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका योगेश भट्टराई तेस्रो स्थानमा रहेका छन्। सचिव पदमा पनि ओली प्यानलका उम्मेदवारहरू अगाडि छन्। सचिव पदमा महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राईले अग्रता बनाइरहेका छन्।