एमाले नेतृत्व चयन : भोटिङ मेसिनका चिप्स संकलन हुँदै, नतिजा आजै आउने तयारी

197 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान सम्पन्न भएको मतदानसँगै महाधिवेशनको निर्णय प्रक्रिया अब मतगणनातर्फ प्रवेश गरेको छ। काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा कुल २ हजार २ सय २७ जना प्रतिनिधिले मतदान गरेका छन्।

निर्वाचन समितिका अनुसार महाधिवेशनका लागि छनोट भएका कुल प्रतिनिधिमध्ये ३६ जना मतदान प्रक्रियामा अनुपस्थित रहेका थिए। यस पटक एमालेको नेतृत्व चयन प्यानलगत प्रतिस्पर्धामा परिणत भएको छ। पार्टीको सर्वोच्च पद अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ।

त्यस्तै, पार्टीको सांगठनिक नेतृत्व सम्हाल्ने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन्। अन्य पदाधिकारी पदहरूमा समेत दुवै पक्षले आ–आफ्नो प्यानल खडा गरेकाले महाधिवेशनको चुनावी माहोल रोचक बनेको छ।

मतदान सम्पन्न भएसँगै निर्वाचनमा प्रयोग गरिएका ८० वटा विद्युतीय मतदान मेसिनबाट ‘चिप्स’ निकाल्ने कार्य सुरु गरिएको छ। मतगणनालाई व्यवस्थित बनाउन प्रत्येक मेसिनको छुट्टाछुट्टै मुचुल्का तयार पारिनेछ।

निर्वाचन टोलीका अनुसार एउटा मेसिनको मुचुल्का तयार गर्न करिब दुई मिनेट समय लाग्ने अनुमान गरिएको छ। यस आधारमा सबै ८० वटा मेसिनको मुचुल्का तयार गर्न करिब १६० मिनेट (दुई घण्टा ४० मिनेट) लाग्ने देखिन्छ। मुचुल्का प्रक्रिया पूरा भएपछि मेसिनहरू लक गरी कोड नम्बरका आधारमा चिप्स सिल गरिनेछ।

त्यसपछि सर्वपक्षीय बैठक बसेर औपचारिक रूपमा मतगणना र नतिजा घोषणाको प्रक्रिया अघि बढाइने एमाले निर्वाचन स्रोतले जनाएको छ।