एमाले महाधिवेशनमा भोटिङको रफ्तार कम, प्रक्रिया लम्बिँदै

202 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान कछुवा गतिमा अघि बढिरहेको छ।

काठमाडाैंको भृकुटीमण्डपमा लामो मतपत्र र प्यानल सूची मिलाएर मतदान गर्नुपर्ने भएकाले मतदाताहरू लामो समय अल्मलिनु परेको हो। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्। मतदाताहरू प्यानलको सूची लिएर मतदानमा सहभागी हुँदा प्रक्रिया थप ढिलो भएको देखिएको छ।

विद्युतीय भोटिङ मेसिनका सञ्चालकका अनुसार सुरुमा नाम र फोटो हेरेर सिधै मतदान गरे छिटो सकिन्थ्यो, तर सूची हेर्दै उम्मेदवारको फोटो खोज्दा समय बढी लागिरहेको छ। प्यानल सूचीबिना मतदान गर्न गएकाहरूले आधा घन्टाभित्रै प्रक्रिया पूरा गर्ने गरेको भए पनि सूचीसहित गएकाहरूले डेढ घन्टासम्म समय खर्चिनुपरेको उहाँले जानकारी दिनुभयो।

बुधबार साँझ ५ बजेसम्म करिब ८ सय मतदाता मात्रै मतदानमा सहभागी भएका छन्। महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना मतदाता रहेका छन्। उनीहरूले ६ सय ४२ उम्मेदवारमध्येबाट ३ सय १ पदका लागि मतदान गर्नुपर्ने व्यवस्था छ।

यही गतिमा मतदान जारी रहेमा बिहीबार बिहान करिब ४ बजेसम्म प्रक्रिया सम्पन्न हुने अनुमान गरिएको छ।