२०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

278 Shares

काठमाण्डौ । २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसेर निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भएको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवम् थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिला भइसकेको हुँदा २०८२ साल अनुरुप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिएका छन् ।

२०८३ सालको पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी यसअघि सूचना निकालिएको थियो । समितिको निर्णय अनुसार प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गएको वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो । अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकीग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो ।

साथै सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ज्योतिषीलाई आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताएका छन्  ।