नेता उपाध्यायको निधनमा कांग्रेसले पार्टीको झन्डा तीन दिन आधा झुकाउने

240 Shares

काठमाण्डौ। नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । बैठकले मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेता उपाध्यायको क्यान्सर रोगको उपचारका क्रममा अस्ति शनिवार ९१ वर्षको उमेरमा निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।

२०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनीत उपाध्याय २०५६ सालमा भएको उपचुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । २०५६ सालमा शिक्षा तथा खेलकुदमन्त्री रहनुभएका उपाध्याय २०६४ सालको संविधानसभा सदस्य चुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।

समाजसेवा र अध्ययनमा विशेष रुचि राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनासमेत प्रकाशित भएका छन् ।