दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारले बनायो समिति

210 Shares

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका माग सम्बोधन गर्न सरकारले समिति बनाएको छ ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानका माग सम्बोधन गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो । 

महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले जानकारी दिए । 

उक्त समितिसँग वार्ता गर्नका लागि महाअभियानबाट पनि ३ जना प्रतिनिधिहरू सिफारिस गरी पठाउन आग्रह गरिएको छ । 

प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो । 


छलफलमा पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो ।

597870268_840049875298570_5676075931211302839_n_snAZvISp1c.png