पर्यटक भिसामा महिलालाई कुवेत पठाउन गिरोह नै सक्रिय

185 Shares

काठमाडौं । पर्यटक भिसा लगाएर महिलालाई कुवेत पठाउने गिरोह नै सक्रिय भएको भेटिएको छ । बिचौलियाहरूले कुवेतमा घरेलु कामदारका रूपमा पठाउन नेपाली महिलालाई पर्यटक भिसामा पठाउने गरेका छन् । सरकारले २०७३ सालदेखि घरेलु कामदार कुवेत पठाउन रोक लगाएको थियो, तर बिचौलियाहरूले घुम्न जाने कागजात बनाएर त्यहाँ काम गर्ने गरी महिलाहरूलाई पठाउन थालेको भेटिएको हो । डिसेम्बर ५ मा गिरोहले ‘सेटिङ’ मिलाएर एक महिलालाई कुवेत पठाए । कुवेत जान उनले हिमालय एयरलाइन्सको बोर्डिङ पास लिएको देखिन्छ । बिचौलियाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमनको पर्यटक भिसा देखाएर ती महिलालाई कुवेत पठाएका हुन् । विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा उनले ओमनको भिसा पेस गरेको भेटिएको छ । नेपालबाट ओमन जान पर्यटक भिसा लाग्ने भएकाले बिचौलियाहरूले सो सुविधाको दुरुपयोग गरी महिलालाई कुवेत पठाएका हुन् । कुवेत सरकारले भिजिट भिसामा जाने नेपालीहरूलाई कडाइ गर्दै आएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट नेपालबाट बिचौलियाहरूले कुवेत पठाएर त्यहाँ घरेलु काममा लगाउने र उनीहरू श्रम तथा यौनशोषणमा पर्ने गरेको पत्ता लागेको छ ।