काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जङ्गी अड्डाको निरीक्षण गर्दै चुनावमा एक थोपा पनि रगत नबग्ने गरी परिचालित हुन निर्देशन दिएकी छन् । सेनाले सुरक्षा चुनौती र आगामी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ । निर्वाचन सुरक्षामा सेना परिचालनको ढाँचाबारे पनि प्रस्तुतीकरण गरिएको छ । मन्त्रिपरिषद्को निर्णय सिफारिसको आधारमा तिन चरणमा सेना परिचालन गरिँदै छ । जङ्गी अड्डा स्रोतका अनुसार पहिलो चरणमा ३ महिना आगाडिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ्ग गर्नुपर्ने निर्णय गरिएको छ । त्यसपछि दोस्रो चरणमा थप फौज सहित १ महिना अगाडी सेना फिल्डमा परिचालित हुनेछ । तेस्रो चरणमा निर्वाचन सकिएर नतिजा नआउन्जेल सेना परिचालन गरिने छ । यसअघिको निर्वाचनमा १ महिनाअघि मात्र सेना परिचालन गरिन्थ्यो । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसको आधारमा यसपटक निर्वाचनको वातावरण बनाउन तीन महिना अगाडिदेखि सेना परिचालन गर्न लागिएको एक जना उच्च सुरक्षा अधिकृतले रातोपाटीलाई बताए । कार्तिक ३० मा केन्द्रीय सुरक्षा समितिको बैठकले जेनजी प्रदर्शनपछि देखिएको सुरक्षा चुनौतीका कारण ३ महिनाअघिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ्ग गर्नुपर्ने निर्णय गरेको थियो । यसपटकको निर्वाचनमा निर्वाचनमा चार वटा सुरक्षा निकायका ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिँदै छ । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार ७९ हजार सेना खटिँदै छन् । प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कारबाहीलाई पनि सहजीकरण र सहयोग गर्न सेनालाई निर्देशन दिएकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया