काठमाडौं । नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमवार २१ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कफी उत्पादन वृद्धि भएको जानकारी दिएको हो । बोर्डका कृषि विकास अधिकृत गौरव लुईटेलले आर्थिक वर्ष २०८१÷८२ मा नेपालले ६ सय ४१ दशमलव ९ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको बताउनु भयो । उहाँकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ५०१ दशमलब ३ मेट्रिक टन कफी उत्पादन भएको थियो । उनले पछिल्लो समय कफी रोपणको क्षेत्रमा पनि वृद्धि भएको जानकारी दिएका छन् । पछिल्लो ५ वर्षमा कफीको उत्पादन र कफी रोपण क्षेत्रमा पनि वृद्धि भईरहेको उनले बताएका छन् । यद्यपि नेपालको मागअनुसार भने उत्पादन हुन नसकेको उनको भनाई छ । बोर्डले सोमवारदेखि लागू हुनेगरी कच्चा कफीको न्युनतम मूल्य पनि तोकेको छ । मूल्य गत वर्षकै दर कायम गरिएको हो । बोर्डकाअनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्य प्रतिकेजी १०५ रुपैयाँ र ग्रेड बी को ९५ रुपैयाँ तोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया