काठमाण्डौ। धनुषाको विदेह नगरपालिका–२ दुहबीमा गएराति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार गएराति करिब १०ः३० बजेतिर सुत्न जाँदै गर्दा फलामे गेटमा करेन्ट प्रवाह भई पण्डित गम्भीर घाइते भएका थिए ।
उनलाई तुरुन्तै उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पण्डित जन्मजात अपाङ्ग थिए र राति सुत्ने क्रममा घरको मुख्य गेट बन्द गर्न खोज्दा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।
घरमा बिजुलीको तार कटेर गेटमा करेन्ट प्रवाह भएको कारणले दुर्घटना भएको आशङ्का गरिएको छ । स्थानीयहरूका अनुसार हरि पण्डित बालबालिकालाई ट्युशन पढाएर जीविका चलाउँदै आएका मेहनती व्यक्ति थिए । उनको परिवारमा एक छोरा र एक छोरी रहेका छन् । छोरा विदेशमा छन् भने छोरी विवाह भई ससुरालीमा बस्छिन् । श्रीमती भने श्रीमानको निधनको समाचार सुनेपछि अचेत अवस्थामा रहेको परिवारजनले बताएका छन् ।
मृतकको शवको पोष्टमार्टम जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको छ । परीक्षणपछि शव परिवारको जिम्मा लगाइने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया