लुम्बिनी प्रादेशिक अस्पताल निर्माण आयोजनाको प्रगति २८.५० प्रतिशतः ३ वर्षभित्रै सक्ने लक्ष्य

264 Shares

काठमाण्डौ । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिशत पुगेको छ ।

आयोजनाको सुपरीवेक्षणको जिम्मा पाएको काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट सेन्टर’ ले प्रगति २८.५० प्रतिशत पुगेको जनाएको हो । 

२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको भवन निर्माण कार्यको भौतिक प्रगति हालसम्म २८.५० प्रतिसत पुगेको आयोजनाको सुपरीवेक्षण गरिरहेका काठमाडौं युनिकन्सल्टका इन्जिनियर मन्नुप्रसाद चौधरीले जानकारी दिए । 

पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहे पनि भवन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्शन र रेलिगेर सम्मिलित संयुक्त कम्पनीले तीन वर्षमै सक्ने लक्ष्यसहित काम गरिरहेको आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर चौधरीले बताए । 

आयोजनाकाअनुसार हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ भने दोस्रो बेसमेन्टको ढलान पनि सकिएको छ ।

अस्पतालका पुराना संरचना हटाउने काम (साइट क्लियरेन्स) पछि निर्माण शुरु भएको करिव चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको आयोजनाको दाबी छ ।

 पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि ३ वर्ष भित्रै सक्नेगरी कामले तिब्रता पाएको प्राविधिकहरुको भनाई छ ।