जेन-जीलाई गृह मन्त्रालयको आग्रहः हराएका हातहतियार फिर्ता गर्नु

321 Shares

काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाण्डौलगायतका देशका विभिन्न ठाउँमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

देशका विभिन्न ठाउँमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउनु अनुरोध गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभएको छ । 

तोकिएको मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । 

तोकिएको मितिपछि कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवम् मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम शुरू गरेको छ । 

आयोगलाई भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेशसमेत रहेकाले प्रारम्भिक काम शुरू गरेको छ ।

सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोग गठन गरेको छ । 


आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।