काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारी थालेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीका अवसरमा गर्र्नुभएको पहिलो निर्णय कार्यान्वयनका लागि प्राधिकरण जुटेको हो ।
काठमाडौँमा दुई महिनाभित्र र देशभरका दश सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ विस्तार गर्न सेवा प्रदायकहरूसँग छलफल गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका उपनिर्देशक एवं सहायक प्रवक्ता प्रदीप पौड्यालले मन्त्रीको निर्देशनलाई निर्धारित समयभित्र कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउन थालिएको बताउनुभएको छ ।
इन्टरनेट सेवाप्रदायकमार्फत निःशुल्क वाइफाइ विस्तार गरिने भएकाले उनीहरूसँगको छलफलबाट प्राप्त प्रतिक्रिया र सुझावपछि थप काम अघि बढाइने उहाँले उल्लेख गर्नुभएको छ ।
सहायक प्रवक्ता पौड्यालका अनुसार निःशुल्क वाइफाइका लागि नयाँ स्थानको चयन, उपलब्ध भइरहेका स्थानमा गुणस्तरीयता बढाउने, डेटा सुरक्षा, डेटा कति मात्रामा कति समयसम्म निशुल्क उपलब्ध गराउनेलगायत विषय समटेर रणनीति बनाइनेछ ।
प्राधिकरणले वाइफाइ ‘हटस्पट’ सञ्चालनसम्बन्धी विनियमावली, २०७५ अनुसार उक्त रणनीति बनाएर कार्यान्वयन गर्ने जनाएको छ ।
प्राधिकरणलाई तोकिएको समयसीमाका कारण तत्काल काठमाडौँबाट सेवा सुरु गर्नुपर्ने हतार रहेको सहायक प्रवक्ता पौड्यालले बताउनुभयो ।
सञ्चारमन्त्रीको निर्देशन कार्यान्वयन गर्नका लागि वाइफाइको ‘कभरेज’ विस्तार गर्न समस्या नभएको उल्लेख गर्दै उहाँले हटस्पट र मोबिलिटी फरक विषय भएको स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया