देशका सम्पती नष्ट गर्न लोकतन्त्र विरोधी सामेल भयो: प्रवक्ता महत

187 Shares

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन जी आन्दोलनमा सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण भएको दाबी गरेका छन् । आईतवार महाराजगञ्जस्थित निजी निवासमा पत्रकारसँगको भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले अधिकारका लागि लढ्दा ज्यान गुमाउने कुरा धेरै दुःखद् भएको बताए । नवयुवा पुस्ताले उठाएका सुशासन र अभिव्यक्तिको स्वतन्त्राको विषय नराम्रो नरहेको बताए । महतले देशका सम्पतीहरु नष्ट गर्न लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी, देश र जनताको प्रगतिमा पनि इष्या गर्ने प्रवृत्तिहरु सामेल भएको जिकिर गरे ।

शासन सञ्चालन गर्ने क्रममा राजनीतिक दलहरुबाट कमजोरी भएको स्वीकार गर्दै नेतृत्व तहबाट भएका कमजोरीलाई कानूनसम्मत ढंगबाट हटाउन सकिने बताए । जनप्रतिनिधिहरुको संस्था संसद विघटन हुनु नराम्रो भएको र लोकतान्त्रिक, संवैधानिक व्यवस्थामा उभिएर नै भएका कमी कमजोरी हटाउन सकिने पनि बताए । 

प्रवक्ता महतले दुवै दिनको घटनाको गम्भीर छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताएका छन् । अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिने भएपनि त्यो हुन नसकेको र अब आउने दिनलाई लोकतान्त्रिक मूल्य र मान्यतमाथि आक्रमण गर्ने प्रवृत्तिबाट जोगाउनु नै अबको जिम्मेवारी हुने उनको भनाई छ ।

प्रवक्ता महतले सहज हुँदा प्रशंसा र अफ्ठ्यारोमा गालीगलौजको वर्षा गर्ने कुरा उपयुक्त नहुने भन्दै सन्तुलित र संयम हुन आग्रह गरे । देश अहिले अफ्ठ्यारो परिवेशमा रहेको भन्दै सहज परिस्थितिमा लैजान जरुरी रहेको बताएका छन् ।