आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु

250 Shares

काठमाडौं ।  रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । 

भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो ।

प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयकोे पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिनुभयो । 

इन्टरनेट र बिजुली व्यवस्थापन गरेर न्यूनतम साधनस्रोत र उपलब्ध कर्मचारीबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । 

सम्पूर्ण सेवा सञ्चालन गर्न सम्भव नभएकाले केही अत्यावश्यक सेवामात्र प्रदान गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आगजनी र तोडफोडबाट कार्यालयको मुख्य भवनमा क्षति पुगेको छ । सातवटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कोठाभित्र रहेका इलेक्ट्रोनिक सामान, कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, ¥याक, सोफा, दराजलगायत थुप्रै सामान जलेरका प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । 

सेवाग्राही सरोज साहले भवन क्षतिग्रस्त हुँदा पनि आन्तरिक राजस्व कार्यालयले सेवा प्रदान गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कार्यालयले प्रदान गरिरहेको सेवाबाट सेवाग्राही सन्तुष्ट नै रहेको बताउनुभयो ।

रुपन्देहीमा भदौ २३ गतेदेखि जारी भएको निषेधाज्ञा र कफ्र्यू पनि हटाइएको छ ।  यही भदौ २८ गते शनिबारदेखि निषेधाज्ञा र कफ्र्यू हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । 

जिल्लाको समग्र शान्ति सुरक्षाको विश्लेषण गर्दा सामान्य रहेको र जनजीवन पनि सामान्यीकरणतर्फ उन्मुख भएको उहाँले बताउनुभयो ।
 
जिल्ला प्रशासन कार्यालयले पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था सञ्चालन गर्न, आवागमन सञ्चालन गर्न, पूर्ववत क्रियाकलाप नियमित गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको छ ।