लुटपाट र आगजनीमा जनप्रतिनिधि र दलकै कार्यकर्ता संग्लन

297 Shares

काठमाडौं । देशभर गरिएको प्रदर्शनमा सरकारी तथा निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी हुँदा सिरहाको कल्याणपुर नगरपालिका पनि अछुतो भने रहेन ।

नगरपालिकाको कल्याणपुरस्थित कार्यालयमा भदौ २४ को बिहान ४०–५० जनाको एउटा हूल आएर लुटपाट र तोडफोड मच्चाउँदै आगजनी गरेका थिए ।

उक्त भीडलाई प्रहरीले रोक्न नसकेपछि कार्यालयको कोठा–कोठामा पसेर कागजातदेखि जिन्सी सम्पत्तिमा आगजनी र तोडफोड गर्दै अधिकांश सरसामान लुटेर लगेको नगरपालिकाले जनाएको छ ।

सार्वजनिक सम्पत्तिमाथि ध्वंस मच्चाउने कार्यमा जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । 

जनमत पार्टीबाट निर्वाचित कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार यादवले लुटपाट मच्चाउने भीडको अगुवाइ गरेको खुलेको छ । 

सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा यादव समूहले भीडलाई नगरपालिका कार्यालय तोडफोड तथा लुटपाट गर्न उक्साइरहेको प्रस्ट देखिन्छ ।

वडाध्यक्ष यादवले भीडलाई उस्काएर आगजनी गर्न पेट्रोल किन्ने पैसा नै दिएको एक प्रत्यक्षदर्शीले पनि बताएका छन् । 

कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख रुपैयाँ घूससहित पक्राउ परेर निलम्बनमा परेपछि उनीनिकट रहेका वडाध्यक्ष यादवले नगरपालिकामा पटक–पटक विवाद झिक्ने प्रयास गर्दै आएका थिए । 

यसपल्ट प्रदर्शनको नाजायज फाइदा उठाउँदै उनले आगजनीका लागि भीड उचालेको कार्यवाहक नगरप्रमुख रेखादेवी यादवले बताएकी छन्  । 

नगरपालिकामा उपद्रव मच्चाएको सोही समूहले छेउमै रहेको वडा ११ को कार्यालय र इलाका प्रहरी कल्याणपुरमा पनि आगजनी र लुटपाट गरेको थियो । 

वडाध्यक्ष यादवले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । नगरपालिकामा घटना भएपछि हेर्नका लागि आफू त्यहाँ गएको उनको दाबी छ । 

तोडफोड, आगजनी र लुटपाट भएका बेलाका प्राप्त भिडियो तथा तस्बिरका आधारमा बुझ्ने काम भइरहेको इलाका प्रहरी मिर्चैयाका निरीक्षक धीरज पटेलले जनाए । 

आन्दोलनमा सिरहाका तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आक्रमण भएको थियो । 

अवस्था सामान्य बन्दै गएपछि प्रहरीले क्षतिसँगै तोडफोड तथा आगजनीमा संलग्नको विवरण खोजिरहेको छ ।