काठमाडौँ । नेपाली कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँकी धर्मपत्नी एवं केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथिको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।
कांग्रेसले आज एक वक्तव्यमार्फत लोकतन्त्रका लागि जीवनपर्यन्त अविचलित रूपमा सङ्घर्ष गर्नुभएका पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा राणामाथिको आक्रमणको निन्दा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा भएको मृत्यु एवं खर्बौको भौतिक संरचनाको विनाश, अन्य कयौँ राजनैतिक नेतृत्वमाथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र विषयमा पार्टीको धारणा सार्वजनिक गरिसकेको कांग्रेसले जनाएको छ ।
उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा युवा सहादत हुनु र खर्बौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्णक्षति हुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ । कांग्रेसले आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मीलगायतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यस्तै, सम्पूर्ण घटनाको छानबिन गर्न मागका लागि सरकारलाई पुनःस्मरण गराएको छ ।
यसैगरी कांग्रेसले पार्टीका अग्रज, नेता, पार्टीका साथी तथा अन्य राजनीतिक दलका नेतामाथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य भन्दै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस विषयमा अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधिसभाको अलोकतान्त्रिक र असवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिएको उपभापति खड्काले विज्ञप्तिमार्फत स्मरण गराउनुभएको छ ।
समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, युवा एवं पार्टी साथीहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणा तय गर्दै अघि बढ्न कांग्रेस दृढ प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया