काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरूर बाल सुधारगृहबाट भागेका व्यक्तिहरू सम्बन्धित कारागार र सुधारगृहमा फर्कन आग्रह गरिएको छ ।
राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दीका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
बाल सुधारगृहमा रहेका व्यक्तिसमेत भागेका भनी जानकारी आएको र यसबाट हुन सक्ने सुरक्षा जोखिमलाई आयोगले गम्भीर रूपमा लिई अनुगमन गरिरहेको जनाएको छ ।
आयोगले भागेका कैदीबन्दीहरूका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराधपीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको उल्लेख गरेको छ ।
यस्तै, कैद भुक्तान गरिरहेका कैदीबन्दी कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा, २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराधपीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकारसम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन हुन जानेमा आयोगले सचेत गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया