काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसम्मत र लोकतान्त्रिक विधिबाट अबको राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिनुभएपछि मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आज पार्टीको केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शकंर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबमोजिम देशलाई राजनीतिक निकास दिनुपर्ने बताउनुभएको हो ।
विद्यमान विषम परिस्थितिका बीच अझै पनि मुलुकका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकको जीउधनको सुुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न नेपाली सेनालगायत सबै सुरक्षा निकायको ध्यानाकर्षण गर्नुभएको छ ।
एमाले महासचिव पोखरेलले यही भदौ २३ गतेको दुःखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग राख्नुभयो । यसैगरी, उहाँले भदौ २४ गते देशव्यापी रुपमा आगजनी, तोडफोड, लुटपाटजस्ता आपराधिक गतिविधिको निन्दा गर्दै त्यस्ता अराजक गतिविधि हुन नदिन तथा देश र जनताका पक्षमा एकताबद्ध भइ डटेर मुकाबिला गर्न पार्टी पङ्क्तिसमक्ष अनुरोध गर्नुभएको छ ।
एमाले महासचिव पोखरेलले ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरुको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम राख्न र जनतालाई परेका पीरमर्कामा सम्भव भएसम्म सहयोग गर्र्न सम्बद्ध सबैसँग अपिल गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया