कारागारबाट रविको सन्देशः सरकारको कुशासन, भ्रष्टाचार र क्रूरता बाध्यकारी अब एक मिनेट पनि सहन सकिदैन

274 Shares

समर्थकलाई संयमित रहन र आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्खु कारागारबाट प्रधानमन्त्री र सरकारमाथि कठोर आरोप लगाएका छन् । 

उनले देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री र सरकारमाथि कठोर आरोप लगाएका हुन् ।  

उनले काठमाडौँमा आइतबार जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट विद्यार्थीको मृत्यु भएको घटनालाई ‘नेपाली इतिहासकै कालो दिन’ भन्दै सरकारलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

उनले जेनजी पुस्तालाई सडकमा ल्याउन सरकारकै कुशासन, भ्रष्टाचार र क्रूरता बाध्यकारी भएको आरोप लगाए।

सन्देशमा लामिछानेले अहिलेको राजनीतिक सङ्कट समाधान गर्न छिटोभन्दा छिटो जेनजी समेत सहभागी हुने गरी अन्तरिम नागरिक सरकार गठन हुनुपर्ने बताए।

०४६ सालपछिका सबै नीतिगत निर्णयहरूको समीक्षा गरिनु पर्ने र त्यसयताका उच्चपदस्थ व्यक्तिहरू र तिनका परिवारको सम्पत्ति छानबिन गर्ने आयोग बन्नुपर्ने उनको माग छ। 

साथै आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि विज्ञहरूको उच्चस्तरीय समिति गठन गर्नुपर्ने र भदौ २३ को घटनाको छानबिनका लागि न्यायिक आयोग बनाएर प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरूको अनुसन्धान गर्नुपर्ने उनले बताए।

उनले आफ्ना समर्थकलाई संयमित रहन र आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपिल गरेका छन्। साथै रास्वपाका सांसदलाई पनि माग पूरा नभए संसदबाट राजीनामा दिन तयार रहन आह्वान गरेका छन् ।