काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताउनुभयो ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ को पटराखल्लाका १५ घर डुबानमा परेका छन् । भीमदत्त–११ भुजेलामा पनि ५ घर डुबानमा परेका छन् ।
‘पटराखल्लाका ५५ जना, उनीहरूका सरसामान र चौपायासमेत नजिकैको जमुना आधारभूत विद्यालयमा राखिएको उहाँले बताउनुभयो ।
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे गाडी आवागमन रोक लगाएको छ।
डीएसपी बोहराले नदीमा पानीको सतह बढेर १ लाख ४० हजार २ सय ५० क्युसेक पुगेको बताउनुभयो ।
नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया