काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठ्यक्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार हो भन्नुभयो । त्यसैले, राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरूप तीव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उहाँको भनाई थियो ।
उहाँले देशको लागि स्वदेशमै केही गरौँ भन्ने सृजनशील जनशक्तिको आवश्यकता औँल्याउनुभयो ।
उहाँले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु हुँदैन भन्नुभयो ।
उहाँले नेपाली जनताको ठूलो बलिदान, त्याग र सङ्घर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र यो व्यवस्थामार्फत समान रूपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दैछ भन्नुभयो ।
आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको उहाँको भनाई थियो ।
उहाँले सुन्दर प्रकृतिले प्रचुर पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभा जलविद्युत उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको तथा छिमेकी मुलुक चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार व्यवसाय बढाउन सकिने सम्भावना उत्तिकै छ भन्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया