काँग्रेस केन्द्रीय समितिमा नेताहरुः सरकार प्रभावकारी हुन सकेन, सात बुँदे सहमति पनि पालना भएन

331 Shares

काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले सरकार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । 

केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने केन्द्रीय समितिका सदस्यहरुले सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमता माथि नै प्रश्न गरेका हुन् । उनीहरुले सरकार सात बुँदै सहमति अनुसार अघि बढ्न नसकेको काँग्रेसका केन्द्रीय सदस्यहरुको निष्कर्ष रहेको छ । संविधान संशोधनको मुद्दामा अहिले संशोधन भइरहेको भएपनि अन्य सवालमा सरकार प्रभावकारी बन्न नसकेको काँग्रेस नेताहरुको निष्कर्ष छ । उनीहरुले सरकारले गरेका कमजोरीहरुलाई सच्याउन सुझाव दिएका छन् । 

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनभित्र काँग्रेसकाे पहिचान कम देखिएको भन्दै प्रश्न उठेको बताउनु भयो । उहाँले यथास्थितिबाट काँग्रेसले गति लिन नसक्ने बताउनु भयो । पार्टीलाई नेताप्रधान नभइ नीतिप्रधान बनाउनुपर्ने माग गर्नुभयो । 

काँग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने र मिहेनत अझ बढाउनुपर्ने विषयमा केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको जानकारी दिनुभयो । उहाँले बजेटको सन्दर्भमा देखिएका समस्यालाई पार्टीले गम्भीरताका साथ लिएर छलफल गर्नुपर्ने सुझाव आएको बताउनु भयो । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्ने सुझाव आएको उहाँकाे भनाइ थियाे । 

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको बताउनु भयो । सरकारका कामका बारेमा टिकाटिप्पणी हुनु स्वभाविक भएको पनि बताउनु भयो । सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउने तर यसलाई नै लिएर सरकार परिवर्तन भइहाल्छ भन्ने नहुने बताउनु भयो । 

केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सात बुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्ने बताउनु भयो । सात बुँदे कार्यक्रम सरकार गठनको औचित्य, भावि कार्यदिशा र यसले मुलुकलाई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भुमिकासँग सम्बन्धित रहेको बताउनु भयो । सरकारले सरकार प्रभावकारीरुपमा काम गर्नुपर्ने बताउनु भयो ।  

काँग्रेस केन्द्रीय सदस्य राजन केसीले सात बुँदे अन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको बताउनु भयो । सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले लोकतन्त्रमा पहिलो र दोस्रो हुने पार्टी स्थिर सरकार दिनका लागि अभ्यास गरिएको बताउनु भयो । स्थिर सरकारले नै मुलुकको विकास गति अघि बढाउने बताउनु भयो ।