यस वर्षको एसइईको नतिजा एक साताभित्र सार्वजनिक हुने

509 Shares

काठमाडौँ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जनाएको हाे।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ । हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

यसअघि असार ६ गतेभित्र  नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको थियो । तर गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। गत वर्षको एसइई परीक्षामा ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।