काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले एएफसी महिला एसियन कपमा अहिले नै छनोट हुन्छौं भन्न नसकिने बताएका छन् ।
आगामी जुन २९ देखि जुलाई ५ सम्म उज्बेकिस्तानमा एएफसी महिला एशियन क्वालिफायर्स हुँदैछ । सोही छनोटमा खेल्न जाने खेलाडीकाे बिदाइको अवसरमा प्रशिक्षक प्याट्रिकले समूहमा आफूभन्दा बलियो टोली रहेको र त्यससँगै आफ्नो धरातल पनि हेर्नेुपर्ने उल्लेख गर्दै अहिले नै छनोट हुन्छौं भनेर दाबी गर्न नसक्ने बताएका हुन् । छनोट होस् भन्ने आफ्नो पनि सपना रहेको र त्यहाँको वातावरणका साथै बलियो प्रतिद्वन्द्वी रहेकाले अहिले नै यसै हुन्छ भन्न नसकिने उनको बुझाइ छ । यद्यपि आफू सकारात्मक नतिजाको आशामा रहेको पनि उनी बताउँछन् ।
समूह हेर्दा केही सम्भावना पनि देखिए पनि सहज नरहेको उनको भनाइ छ । जित्नकै लागि आफ्नो टोलीले तयारी गरेको भए पनि सबैले सहजै जित्ने अनुमान गरेको उनले बताएका छन् । तर, त्यो सहज र सरल नरहेको उनी बताउँछन् । यस छनोटमा सहभागी ३४ राष्ट्रलाई कुल आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एशियन कपमा स्थान बनाउनेछन् । नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा पाँच पल्ट एशियन कप खेलिसकेको उज्वेकिस्तानजस्तो बलियो टोली छ । यो टोली फिफा वरीयतामा ५५औं स्थानमा छ भने नेपाल १०० औं स्थानको टोली हो ।
आँकडा र उसको फुटबल धरातलमा उज्बेकिस्तान बलियो रहेकाले पनि यो छनोट जितेर एशिया कप खेल्छौं भन्ने नसकिने प्रशिक्षक प्याट्रिकले बताए । यद्यपि उनले आफ्नो लामो समय देखिएको प्रशिक्षण करियरअनुसार हेर्दा नेपाली महिला टोली साँच्चै नै बलियो रहेको उल्लेख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया