देश एउटा नयाँ चरणमा प्रवेश गर्दैछः प्रधानमन्त्री

293 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभएको छ । 

शुक्रबार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषिको आधुनिकीकरणतर्फ व्यापकरुपमा काम गरिरहेको र कृषिको आधुनिकीकरण भइरहेको पनि बताउनु भयो । उद्योगतर्फ पहिलेभन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा निराशा पैदा गर्न नहुने बताउनु भयो । आफैँले गर्न सक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हासिल हुने बताउनु भयो । देशलाई दुर्गम देशबाट सुगम देशमा परिणत गरिएको बताउँदै उहाँले बहुआयामिक ढंगले चौतर्फी विकासमा लागेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले चक्रपथ विस्तार गरी ट्राफिक जाम अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताउनु भयो । उहाँले विकास भयो भन्ने कुरामा चिन्ता नलिन आग्रह गर्नुभयो । विकासको नेतृत्वमा राजनीतिक दल र जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने भन्दै उहाँले सरकारका निकायहरु विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउनु भयो ।