इजरायल र इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन

404 Shares

काठमाडौं । इजरायल र इरानबीचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । 

समाजले बुधबार काठमाडौँस्थित इजरायल दुतावास र इरानी वाणिज्य दुतावास अगाडी शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो । समाजका सभापति रेनुका पौडेलले इजरायली दुतावास अगाडी आधा घण्टा र इरानी वाणिज्य दुतावासमा पनि आधा घण्टा प्रदर्शन गरेको बताउनु भयो । उहाँले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताउनु भयो । उहाँले इजरायल र इरानबिचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको बताउनु भयो ।  

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताउनु भयो । उहाँले इजरायलले पहिले यो युद्ध शुरु गरेको कारणले इजरायलले शान्तिको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाउनु भयो । उहाँले कसैको पक्ष नलिई युद्धको विपक्ष र शान्तिको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो ।  

पछिल्लो केही दिनयता मध्यपूर्वमा इजरायल र इरानबिचको युद्ध झनै चर्किएको छ । मानव अधिकारकर्मीहरूले युद्ध रोक, शान्ति कायम गर, युद्ध मानवताको अपमान हो लगायतका प्लेकार्ड समेत बोकेका थिए ।