काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताउनु भयो ।
वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिबद्धता जनाए पनि बजेट कमजोर आएको जिकिर गर्नुभयो । उहाँले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृतरूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहनुभएका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मेहनत नपुगेको बताउँदै दुई ठूला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाउनु भयो ।
आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमितरूपमा बनाउने बजेटको रूपमा देखिएको जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया