बजेटमा गरिएको राजश्व प्रश्ताव चुनौतीपूर्ण छः सांसद आचार्य

480 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्वको प्रश्ताव चुनौतीपूर्ण रहेको बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले यस्तो बताउनुभएको हो । उहाँले बजेट तुलनात्मकरुपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधान केन्द्रित रहेको दाबी गर्नुभयो । अर्थतन्त्रमा सुधार र वर्तमान आर्थिक परिस्थिति अनुकुल बजेट ल्याउने प्रयत्न गरेको भन्दै सांसद आचार्यले निजी क्षेत्रको समस्या समाधान उन्मुख र लगानीमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेटको रुपमा प्रश्तुत हुन खोजेको बताउनु भयो । 

विगतमा लगानी भैरहने तर प्रतिफल नआउने विगतको अवस्थालाई चिर्दै छिटो आयोजना सम्पन्न गरेर प्रतिफल लिनेतिर बजेट केन्द्रित भएको दाबी गर्नुभयो । अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति श्रृंखला, मूल्यबृद्धि र निर्यातजन्य कुराहरुमा प्रभाव पर्ने र आयआर्जनका कुराहरुमा नकारात्मक प्रभाव पर्नसक्ने उहाँको भनाइ थियो ।
बजेटका विशेषताअनुरुप कार्यान्वयन र राजश्व संकलन गर्ने अथवा स्रोत जुटाउने विषय भने चुनौतीका रुपमा रहेको बताउनु भयो ।