काठमाडौँ । सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाईमा व्यवसायीहरु आन्दोलित भएका हुन् । आइतबार उनीहरुले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्यालीसहित आन्दोलन गरेका हुन् । कानूनले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने संघर्ष समितिको माग छ ।
त्यस्तै हिरा, जवहरतमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरेर पूर्ववत व्यवस्था कायम गरिनुपर्ने, उपभोक्ता हित, गहना उत्पादक तथा कालिगढ, व्यवसायीमैत्री सुनचाँदीसम्बन्धी ऐन, कानून र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्राहरु खुल्लारुपमा पान नम्बर र कर चुक्ता प्रमाणपत्रको आधारमा गहना उत्पादक तथा कालिगढ व्यवसायीले खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने उनीहरुको माग छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
फेसबुकबाट तपाईको प्रतिक्रिया