नदीजन्य वस्तुहरु उत्खनन गरेर विदेशमा समेत बेच्ने वातावरण बन्दैछः अर्थमन्त्री

304 Shares

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ। 

खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको बताउँदै उहाँले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने बताउनुभएको हो । खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगिने उहाँको भनाइ छ ।

आज राजधानीमा पूर्वाधार पत्रकार समाजले गरेको एक कार्यक्रमललाई सम्बोधन गर्दै उहाँले त्यस दिशातर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने बताउनु भयो । कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जे जस्ता समस्या रहँदै आएका थिए ती समस्यालाई हदसम्मै पूरा गरिएकोसमेत बताउनु भयो । केही महत्वपूर्ण सुधारका प्रयास बजेटमा गरिएकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलका अनुसार जहिल्यै बजेटको विश्वसनियतामाथि प्रश्न उठ्दै आएको थियो । अहिले बजेटको आकार बढाउने भन्दा पनि यथार्थपरक बजेट ल्याइएको कारण विश्वसनियतामाथि कसैले प्रश्न उठाउन सकेका छैनन् । चालु खर्चलाई वाञ्छित सीमामा राख्न सकिने बताउँदै उहाँले साधारण खर्चलाई विगतमा बढाइरहँदा अहिले सीमामा राख्न कठिन भएकोसमेत बताउनु भयो ।