विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिनेछः अध्यक्ष हुमागाईँ

387 Shares

काठमाडौँ ।  विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

दोस्रो कार्यकालको पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जतिसक्दो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्ने र विज्ञापन नियमन ऐन संशोधन गरिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष हुमागाईँले भन्नुभयो, “अहिले मुख्य चुनौती भनेको सबैको सहयोग जुटाउँदै विज्ञापनदातालाई विश्वासमा ल्याएर आम सञ्चारमाध्यमको भरथेगमा सहयोग गर्न सकियोस् भन्ने हो, सामाजिक सञ्जालमा भइरहेको विज्ञापनको प्रवाह विस्तारै मूलधारका सञ्चार माध्यममा ल्याउने काम गर्नु पर्नेछ।”

नयाँ नीति जारी गरी ऐन संशोधनपछि मात्रै आमसञ्चार, बाह्य (होर्डिङ बोर्ड), सामाजिक सञ्जाल र ‘इभेन्ट’मा हुने विज्ञापनलाई नियमनको दायराभित्र ल्याउन सकिने उहाँको भनाइ छ । सुरु गरेको र निर्णयमा पुग्न नसकेको राष्ट्रिय विज्ञापन नीति दुई वर्षअघि मन्त्रालयमा सिफारिश गरिएको जानकारी दिँदै उहाँले त्यसलाई निष्कर्षमा पुर्याउन नसक्दा अहिले विज्ञापन नियमन ऐन संशोधन गर्न नसकिएको बताउनुभयो ।

यसअघि चारवर्षे एक कार्यकाल विज्ञापन बोर्डमा बिताउनु भएका उहाँले पहिलो कार्यकालमा नीतिनियम र विज्ञापनसम्बन्धी मापदण्ड बनाउने कार्यमा खर्चिनु परेको बताउनुभयो । त्यस अवधिमा आचारसंहिता र विज्ञापन नियमावली संशोधन गरी विज्ञापन बजारलाई पारदर्शी बनाउने कार्य गरिएको उहाँको भनाइ छ। विज्ञापनको नियमनका लागि तीन तहको सरकारको संलग्नता आवश्यक पर्ने जनाउँदै उहाँले लोक कल्याणकारी विज्ञापन सुरु गरिएको जानकारी दिनुभयो ।