काठमाडाैँ । सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आईतवार माईतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका हुन् । सातवटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् । आजसम्म आफ्ना मागहरु सम्बोधन नभए सोमवारदेखि देशव्यापी रूपमा अनिश्चितकालका लागि सवारीसाधनहरू घर ग्यारेजमा थन्काउने उनीहरुको चेतावनी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजी सवारी साधनलाई सातवटै प्रदेशले राइड सेयरिङमार्फत सेवा दिने निर्णय गर्न लागेको कारण आफूहरु सडकमा आउनुपरेको बताउनु भयो । उहाँले प्रदेश सरकारहरुले सार्वजनिक सवारी साधनहरु सकिने गरी ऐन निर्माण गर्न लागेकै कारण सडक आन्दोलन गर्नुपरेको उहाँको जिकिर छ । अध्यक्ष स्वाँरले सरकारले आजको दिनभित्र आफ्ना मागहरु पुरा नगरे सोमवारदेखि सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा हाल्ने चेतावनी समेत दिनुभयो ।
आफूहरुको आन्दोलनको कारण सर्वसाधारणमा पर्ने असुविधाको जिम्म समेत सरकारले लिनुपर्ने उहाँको भनाइ छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले राइड सेयरिङको निजी सवारी साधनलाई प्रयोजनविपरित कार्य गर्नको लागि गण्डकी सरकारले ल्याएको नियमावलीको विरुद्ध सडकमा आउनु परेको बताउनु भयो । उहाँले सरकारले सार्वजनिक यातायातको सुदृढिकरणको सट्टा निजी सवारीलाई समेत यात्रु ओसार्न अनुमति दिने व्यवस्था आपत्तिजनक रहेको बताउनु भयो । महासचिव बानियाले संघसंस्था खारेजी एवं संघ संस्थामा रहेका चल/अचल सम्पतीलाई नेपाल सरकारको मातहतमा ल्याउने सरकारको नियर्ण सर्वोच्चले उल्ट्याएको १४ महिनासम्म पनि कार्यान्वयन नभएको भन्दै उक्त सर्वोच्चको आदेशको कार्यान्वयन गर्न समेत माग गर्नुभयो ।
व्यवसायीको आन्दोलनको कारण राजधानीका सडकमा अवरुद्ध भएको कारण यात्रीले सास्ति खेप्नुपरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया