बजेटबारे निजी क्षेत्रः अधिकांश सुझाव समेटिएका छन्, समग्रमा बजेट राम्रो छ

329 Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताउनुभएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रको धेरै कुरा समेटेको बताउनुभएको हो । उहाँले अब आर्थिक ऐन आइसकेपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने महशुस गरेको स्पष्ट पार्नुभयो । साथै बजेटले वैदेशिक लगानी प्रवर्द्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको भन्दै यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास लिएको अध्यक्ष ढकालले बताउनु भयो ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटमा समेटिएका सबै कुरा राम्रो भएपनि राजश्व मुख्य चुनौति हुनसक्ने बताउनु भयो । पूर्वअध्यक्ष मल्लले समग्रमा बजेट राम्रो आएको बताउनु भयो । उहाँले बजेटले युवा पुस्तालाई पनि प्रोत्साहन दिन स्टार्टअप बिजनेसमा पाँच वर्षसम्म कर नलिने घोषणालगायत समग्रमा बजेट राम्रो आएको प्रतिक्रिया दिनुभयो । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले बजेटलाई सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले कार्यक्रमहरु सबै राम्रा आएका तर बाँकी कुरा आर्थिक ऐन आएपछि थाहा हुने बताउनु भयो । राजश्व उठाउने विषयमा कर्मचारीहरुले राम्रो नियतले काम गरिदिए अन्य कुराहरुलाई बजेट सकारात्मक रहेको अध्यक्ष अग्रवालको भनाई थियो । निजी क्षेत्रका मागहरुलाई अर्थमन्त्रीले सकारात्मकरुपमा लिएर बजेटमा समावेश गरिदिनुभएको बताउनु भयो । बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीहरुले बजेट समग्रमा आशालाग्दो भएको र बाँकी कुरा आर्थिक ऐन आएपछि मात्र प्रतिक्रिया दिन सकिने बताउनु भयो ।