काठमाडौँ । नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवर्द्धन गर्ने उद्देश्यसहित सोलिड्यारीड्याड र नेपाल तयारी पोशाक उद्योग संघबीचको सहकार्य शुरु भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले पहिले नै सम्झौता भइसकेको सहकार्य आजदेखि शुरु भएको जानकारी दिनुभएको हो । कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पाण्डेले तयारी पोशाकलाई प्रतिष्पर्धात्मक बनाउने,त्यसबाट उत्पन्न हुने फोहोर विसर्जन, रोजगारीको सिर्जनासँगै उत्पादित वस्तुहरु विश्व बजारमा पुर्याउने र नेपालमा पनि बजारीकरणका विषयमा सहकार्य हुने बताउनु भयो ।
नेदरल्याण्डमा मुख्य कार्यालय रहेको उक्त संस्थाले नेपालसहित ५० भन्दा बढी मुलुकमा कृषि, तयारी पोशाक, चिया र पशुपालनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै पाण्डेले नेपालमा भने तयारी पोशाक र चियाको क्षेत्रमा मात्र काम गर्ने जानकारी दिनुभयो । साथै तयारी पोशाकको बजारीकरणको अवस्था, ब्यापार सन्तुलन र निर्यातका विषयमा समस्या पहिचान गर्दै सरकारसँगसमेत समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले संघ र संस्थाका प्रतिनिधि बसेर हुने छलफलबाट निस्किएका निष्कर्षको आधारमा काम अघि बढाइने जानकारीसमेत दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया