काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आवश्यकता अनुसारको विद्युत आपूर्ति गरिरहेको बताउनुभएको छ।
आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले विद्युत जानु नेपालमा विद्युत कम भएर नभइ विपद्जन्य घटनाले पारेको अवरोध रहेको बताउनु भयो ।
सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताउँदै उहाँले कृत्रिम कुराहरु प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताउनु भयो । मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको बताउनु भयो । विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।
मन्त्री खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैल्याउनेहरुलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभयो । नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको भएपनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको बताउनु भयो । आतंक फैल्याउने र दुःख दिने हिसाबले टेलिफोन गर्नेहरुको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गर्नुभयो । मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया