आयात–निर्यातका लागि मुलुककै प्रमुख नाका वीरगन्जको ‘राजश्व संकलन’ लक्ष्यभन्दा टाढा

316 Shares

वीरगन्ज । आयात–निर्यातका लागि मुलुककै प्रमुख नाका ‘वीरगन्ज भन्सार कार्यालय’को राजश्व संकलन परिणामले मुलुकको ढुकुटीमा निकै ठूलो अर्थ राख्छ । यो भन्सार कार्यालयको राजश्व संकलन गर्ने ‘एकिकृत जाँच चौकी’ (आइसिपी) पनि मुलुककै पहिलो ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयको छेवैमा अवस्थित छ । पाँच–सात सय मिटर दूरीमा अवस्थित आमने सामानेका यी दुवै भन्सार कार्यालयले गर्ने काम विभागले तोकेको राजश्वको लक्ष्य पूरा गर्न यहाँ आयातित मालबस्तुमाथि सुक्ष्म निगरानी गर्ने र राजश्व संकलनमा टेवा दिने हो ।

ड्राइपोर्ट भने लक्ष्य नजिक
उस्तै प्रकृतिका काम भए पनि रेलबाट सामान आउने ‘सुख्खा बन्दरगाह’को ‘राजश्व’ संकलन लक्ष्य विभागले तोकेको लक्ष्यको नजिक देखिएको छ । तर बस, ट्रक र लरीबाट सामान आयात हुने वीरगन्ज भन्सार कार्यालयको राजश्व लक्ष्य भने गएका १० महिनामा ८० प्रतिशत पनि नकटेको पाइएको हो । यो भनेको लक्ष्यको तुलनामा ३८ अर्ब १९ करोड ६७ लाख अपुग हो ।

राजश्व विभागले वीरगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको १० महिनाका लागि कुल १ खर्ब ७८ अर्ब ६१ करोड ८५ लाखको लक्ष्य दिएकोमा गएको साउनदेखि बैशाखसम्म जम्मा १ खर्ब ४० अर्ब ४२ करोड १८ लाख मात्र वीरगन्ज भन्सार कार्यालयले राजश्व संकलन गरेको भेटिएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले पनि यहि पुष्टि गरेको छ । यो भनेको लक्ष्यको ७८ दशमलब ६२ प्रतिशत मात्र हो ।

आयातको भारले देशलाई नै थिचेको अवस्थामा मुलुकको अधिकांश सामान आयात हुने प्रमुख नाका वीरगन्ज भन्सारको राजश्व लक्ष्य अपुग हुनुमा कार्य सम्पादनको पनि कमजोरी रहेको भुक्तभोगीहरुको तर्क छ । कारण यो भन्सारबाट आयात हुने सामानको ठूलो हिस्सा रेड च्यानलबाट भन्सार जाँचपास हुने गरेको भेटिएको छ । गएको बैशाख ३१ गतेको तथ्याँक हेर्ने हो भने ६९ प्रतिशत माल रेड च्याननलबाट पास भएको भन्सारको तथ्यांकमा नै समेटिएको छ । बाँकी २६ दशमलब ५६ प्रतिशत यल्लो र ३ दशमलब ८३ प्रतिशत मात्र ग्रीन च्यानलबाट समान जाँच पास भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले पनि स्वीकारे ।

भन्सारमा आयातित सामान मध्ये रेड च्यानलबाट बढी सामान आउनु र पास हुनु भनेको सबै सामान चेकजाँच गरिनु पर्ने भन्ने हो । यल्लो च्यानल भनेको प्रज्ञापन पत्रमा उल्लेख भएका सामानहरु मिलाउने भन्ने हो । ग्रीन च्यानल भनेको शंका नलागेसम्म कागजमात्र हेरेर पास गर्ने नीति रहेको भन्सारका कर्मचारीहरुले बताए । यो नीति अनुसार रेड च्यानलबाट बढि सामान भित्रिने र राजश्व पनि अपुग हुने कारणले मालबस्तु आयात गर्ने पार्टी र एजेण्ट तथा जाँचकीहरुले यसैमा बढि चलखेल गर्ने सम्भावना पनि भन्सारकै जानकारहरुले खुलासा गरे । हुन पनि रेड च्यानल प्रयोग बढिहुँदा मुलुकको प्रमुख भन्सार नाकामा चलखेल नहुने भन्ने कुरा भन्सार भित्रको संसार बुझ्ने जो कोहीले सहजै अनुमान लगाउन सक्दछ । वीरगन्ज भन्सारमा लामो समय काम गरी अहिले अन्यत्र पुगेका एक जानकारले पनि यो कुरा गलत नभएको जनाए । भन्सारको मूल्य पुस्तिका, प्रज्ञापन पत्र, बिल विलिङ्ग जे जे भए पनि त्यसै भित्रबाट अलिअलि चलखेल गर्न नसकिने भन्ने हुँदैन उनले भने ।

सुख्खा भन्सारको भने राजश्व लक्ष्य नजिक
आइसिपीदेखि करिब पाँच सय मिटर जतिको मात्र दूरीमा रहेको ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयले भने लक्ष्यको निकट राजश्व संकलन पुर्याएको भेटिएको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आबको बैशाखसम्म १० महिनामा लक्ष्य भेट्न ८ अर्ब ३ करोड १३ हजार मात्र बाँकी रहेको तथ्याँकले देखाएको छ । यो कुल लक्ष्यभेट्न १६ दशमलब ३२ प्रतिशत मात्र कम हो । अर्थात कुल लक्ष्यमा ८३ दशमलब ६८ प्रतिशत प्रगति देखिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याँकले नै पुष्टि गरेको छ । यो भनेको कुल लक्ष्य ४९ अर्ब २१ करोड ११ लाख ५१ हजारमा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजश्व संकलन भइसकेको देखिएको हो ।राजधानीबाट