जुम्ला । जुम्लाको पातारासी गाउँपालिका– ३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सी धान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो ।
कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सी धानको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि रोपाइँ महोत्सव तथा धान दिवस मनाइएको उनले जानकारी दिए । यहाँ विगतका वर्षदेखि धान रोपाइँ भइरहेको पातारासी– ३ का वडाध्यक्ष गोविन्द रावतले बताए ।
सङ्घीय सरकारको सहयोगमा धान संरक्षण गर्ने उद्देश्यले छुमचौर जिउलो आधा क्षेत्र घेरबार गरिएको जनाउँदै पूरै क्षेत्र घेरबार भए काली मार्सी धानको खेती बढ्ने उनले बताए ।
विश्वको अग्लो ठाउँमा फल्ने धान यहाँ उत्पादन हुने भन्दै यसको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए । समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा पर्ने छुमचौरमा धानखेती भएपछि जिल्लामा विभिन्न कार्यक्रम गरी रोपाइँ सुरु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया