काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताउनुभएको छ ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गरेका निर्णयहरु क्रमशः स्पष्टरुपमा बाहिर आउने गरेको भन्दै सरकारले कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
उहाँले कर्पोरेशनले दिन नसकेको, पुर्याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्नेसम्मका सुझाव र छलफल गर्न सकिने बताउनु भयो । सरकार अहिले बजेटको पूर्वतयारीमा लागेको र कुनै निर्णय नभएको जानकारी गराउनु भयो । उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनले विक्री गरिहेको साल्टमा आवश्यक मात्राभन्दा बढी आयोडिन भएको गुनासो आएको भन्दै आफूले त्यसबारेमा पनि जानकारी लिएको बताउनु भयो ।
मन्त्री भण्डारीले अहिले आएका अफवाहको अन्त्य गरी साल्ट ट्रेडिङ कर्पोरेशनको विश्वसनियता बढाउनुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया