सल्लाहकार नियुक्तिमा कानूनी मापदण्ड बनाउन काँग्रेस सांसद खतिवडाद्वारा सरकारको ध्यानाकर्षण

466 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सल्लाहकार नियुक्तिसम्बन्धी व्यवस्थालाई संविधान र कानून अनुसार मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले गाउँपालिका अध्यक्षदेखि वडा अध्यक्षसम्मले कानूनी र प्रेस सल्लाहकार राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै आवश्यक मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सल्लाकारको रुपमा संघीय मन्त्रालय एवं उच्च ओहोदाका पदमा समेत विचौलियाको पहुँच पुग्ने गरेको उल्लेख गर्दै सल्लाहकार नियुक्तिसम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । 

आर्थिक अनियमितता र चुहावट घटाउन सल्लाहकार नियुक्ति प्रक्रियालाई पारदर्शी र कानुनी दायरामा ल्याउनुपर्नेमा सांसद खतिवडाले जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिभन्दा बढी सल्लाहकार हुने गरेको उल्लेख गर्दै उहाँले सल्लाहकार र पिएसओ नियुक्तिसम्बन्धी मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।  

राष्ट्रको सम्पत्ती दोहन गर्ने गलत प्रणालीलाई रोक्न सल्लाहकार नियुक्तिलाई व्यवस्थित बनाउनुपर्नेमा उहाँको जोड छ ।