वाणिज्य बैंकहरुले ताेके जेठ महिनाका लागि  नयाँ ब्याजदर

363 Shares

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । 

बैंकहरूले तोकको ब्याजदरअनुसार बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशतभन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था छ । यस अनुसार साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण भएका हुन् । 

बचत खातामा अधिकांश बैंकले तल्लो सीमा ३ प्रतिशतमै राखेका छन् । एनआईसी एसिया बैंकको ३.१० प्रतिशत छ । त्यस्तै, बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा एनआईसी एसिया बैंककाे ५.१० प्रतिशत रहेको छ । यो खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३.२० प्रतिशत रहेको छ । 

त्यस्तै, व्यक्तिगत मुद्दती खातातर्फ ३ प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३ प्रतिशत रहेको छ । तल्लो तहमै सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले ५.१० प्रतिशत अफर गरेको छ । 

त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ माथिल्लो सीमा अनुसार सबैभन्दा धेरै ब्याज एनआईसी एसिया बैंकले ६.६० प्रतिशत दिने जनाएको छ । तल्लो सीमा भने नेपाल बैंकको ५.४५ प्रतिशत रहेको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर हेर्दा भने लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३.५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५.७५ प्रतिशत रहेको छ। त्यस्तै, संस्थागत मुद्दती खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । 

नयाँ महिनाका लागि महिना सुरु हुनु अघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम उनीहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन् । तोकिएका ब्याजदर बिहीबारदेखि लागु हुनेछन् ।