गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्योः वर्षमान पुन

379 Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाउनुभएको छ। 

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्ने कुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटी गभर्नरहरुबाट नै बनाउने प्रचलन भएपनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएको बताउनु भयो । 

उपमहासचिव पुनले अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएकोले स्वार्थ समूहसँग डिएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने दाबी गर्नुभयो । उहाँले मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आफूहरुको आपत्ति नहुने स्पष्ट पार्नुभयो । 

उहाँले गभर्नर नियुक्ति स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैर विज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउनु भयो ।